मटन–आलु करी

मटन–आलु करी

आवश्यक सामग्री

मटन– १ किलो (क्युब आकारमा काटेको), आलु– २ वेटा (मध्यम आकारका, बोक्रा छोडाएर आधा पारेको, सानो आलु भने सिङ्गै प्रयोग गर्न पनि सकिन्छ), प्याज– २ वटा (मध्यम आकारका), लसुन– ६ केश्रा, अदुवा– १ इन्चको टुक्रा पारिएको, टमाटर– ३ वटा (मध्यम आकारका), मरिच– १ (सानो) चम्चा, ल्वाङ– आधा (सानो) चम्चा, जिरा– १ (सानो) चम्चा, मिट  मसला– २ (ठूलो) चम्चा, गरम मसला– १ (सानो) चम्चा, बेसार– १ (सानो) चम्चा, रातो खुर्सानी–पाउडर, १ (सानो) चम्चा, नुन– स्वादअनुसार, तेल– ५ (ठूलो) चम्चा, धनिया– आधा कप (काटिएको) ।

बनाउने तरिका

प्याज, लसुन र अदुवाको पेस्ट बनाई अलग राख्ने । मरिच, ल्वाङ र जिरा मिसाएर खस्रो–खस्रो हुने गरी पिस्ने । त्यसपछि एक चम्चा तेल तताउने, १/४ चम्चा जिरा र एक चुट्की बेसार हाली आलुलाई हल्का सुनौलो–खैरो नभएसम्म (करिव २  मिनेटजति) फ्राइ गर्ने । अब तिनीहरूलाई छुट्टाछुट्टै भाँडामा निकाल्ने ।

प्रेसर कुकरमा तेल तताउने, तेल तातो भएपछि त्यसमा खुर्सानीको धुलो हाल्ने । यसले तेललाई राम्रो रातो रङ्ग दिन्छ । अब यसमा प्याज, अदुवा र लसुनको पेस्ट थप्ने र २–३ मिनेटसम्म फ्राइ गर्ने । त्यसमा भुटेको मसला, मिट मसला, खुर्सानीको धूलो, बेसार र नुन हाल्ने अनि मसलाले तेल छाड्न सुरु नगरेसम्म (५ मिनेटजति) भुट्ने ।

अब यसमा मासुका टुक्राहरू थप्ने । मसला मासुका टुक्राहरूमा राम्ररी लेप नभएसम्म (३–४ मिनेटजति) फ्राइ गर्ने । अब त्यसमा काटिएको टमाटर र भुटेको आलु पनि थप्ने र करिव ३  मिनेटजति फ्राइ गर्ने । त्यसमा दुई कप मनतातो पानी थप्ने र मासु कोमल नहोउन्जेल (१५–२० मिनेटजति) पकाउने । मासु पकिसकेपछि त्यसको माथि गरम मसला छर्कने अनि राम्ररी मिसाउने र काटिएको धनियाले सजाउने । मटन–आलु करी तयार भयो ।

अन्य ...