चिकेन सलाद
आवश्यक सामग्री
चिकेन ब्रेस्ट– ४ वटा, लो–सोडियम चिकेन ब्रोथ– ६ कप, स्प्रिङ थाइम– ३ वटा, काटेको अजवाइन– डेढ कप, ताजा कागतीको रस– २ चम्चा, नुन– १ चम्चा, मरिच– आधा चम्चा, उच्च गुणस्तरको मायोनेज– १ कप ।
बनाउने तरिका
ठूलो डेक्चीमा चिकेन ब्रेस्ट राख्ने, अनि त्यसमा चिकन ब्रोथ खन्याउने । त्यसपछि थाइम स्प्रिङहरू थप्ने । यो मिश्रणलाई मध्यम–उच्च तापक्रममा उमाल्ने । अब यसलाई १५ मिनेटजति (वा मासु राम्ररी नपाकेसम्म) पकाउने ।
त्यसपछि यो मिश्रणलाई आगोबाट निकाल्ने र ४५ मिनेटदेखि १ घन्टासम्म कोठाको तापमानमा नै सेलाउन छाडिदिने । अब ब्रोथबाट चिकेन ब्रेस्ट हटाएर सुरक्षित राख्ने । चिकेन ब्रेस्टलाई टेबलमा राखी त्यसबाट छाला र हड्डीहरू निकालेर फाल्ने । यो मासु निकै कमलो र नरम हुने भएकाले सजिलैसँग (औंलाकै सहायताले) टुक्रन्छ ।
सबै मासु टुक्र्याइसकेपछि ५–६ कप टुक्रा मासु जम्मा हुन्छ । त्यसलाई मध्यम आकारको कचौरामा राख्ने । अर्को भाँडामा अजवाइन, कागतीको रस, नुन, मरिच र मेयोनेज मिसाउने र त्यसलाई मजाले ब्लेन्ड गर्ने । अघि कचौरामा राखिएको टुक्रा मासुमा मायोनेज मिश्रण राखी फोल्ड गर्ने । त्यसपछि यसलाई छोपेर चिसो नहोउन्जेलसम्म फ्रिजमा राख्ने । अब चिकेन सलाद तयार भयो, यसलाई आफ्नो रुचि र आवश्यकताअनुसार सेवन गर्न सकिन्छ ।
ग्रीन ओनिअन गार्लिक नान

आवश्यक सामग्री
पीठो (मैदा वा आँटा)– डेढ कप, नुन– आधा चम्चा, बेकिङ पाउडर– २ चम्चा, सादा दही–१ कप, लसुन (थिचेको)– ४ पोटी, हरियो प्याज (पातलो गरी काटिएको)– आधा कप, पग्लिएको बटर– २ चम्चा ।
बनाउने तरिका
एउटा कचौरामा पिठो राख्ने । त्यसमा नुन र बेकिङ पाउडर हाल्ने र सबैतिर बराबरी पुग्ने गरी नमिसिएसम्म हिस्क गर्ने । त्यसमा बिस्तारै दही थप्ने र त्यसपछि लसुन तथा हरियो प्याज पनि थप्ने । अब एउटा काठको चम्चाले यी सबै सामग्रीहरूलाई बिस्तारै मिसाउने ।
राम्रोसँग चलाउँदै र मोल्दै ‘स्पन्जी डो’ तयार पार्ने । आँटालाई टेबलमा राखी लचकदार र थोरै टाँसिने नभएसम्म माड्ने । आवश्यकताअनुसार केही पिठो थप्ने र आँटा अलिकति तन्किएसम्म (३ देखि ५ मिनेट सम्म) घोट्ने । यसरी तयार भएको डोलाई प्लास्टिकमा बेर्ने र १५ देखि २० मिनेटसम्म त्यत्तिकै छाडिदिने । त्यसपछि यस डोबाट स–साना डल्ला बनाउने र त्यसलाई बेलनाले बेल्दै रोटी बनाउने ।
यो रोटीलाई तातो नभएसम्म (मध्यम–उच्च तापक्रममा) कास्ट आइरन स्किलेटमा तताउने । तातो अनि सुख्खा स्किलेटमा माथि भनेअनुरूप तयार पारिएको रोटी राख्ने र सतहमा स–साना बुलबुलेहरू बन्दै तलको भाग हल्का खैरो नभएसम्म पकाउने । (करिव१ मिनेटजति पकाउने) ।
अब उक्त रोटी (नान) लाई पल्टाउने र थप १ मिनेट पकाउने । पकाउँदा तापक्रम बढाउनका लागि स्प्याटुलाले थोरै थिच्न सकिन्छ । त्यसपछि दुई पटक थप फ्लिप गर्ने र सबै छेउ पाक्ने गरी थप १५ सेकेन्डजति पकाउने तर ओभरकुक भने नगर्ने । यसैगरी क्रमशः अरु नान रोटी पकाउन्जेल पाकिसकेको नानलाई सेलाउन नदिनका लागि भान्सा–तौलियाले छोप्ने वा हटकेसमा राख्ने । सबै रोटी पाकिसकेपछि रोटीको दुवै साइडमा बटरले ब्रस गर्ने । अन्त्यमा प्रत्येक नानलाई त्रिभुज आकारमा फोल्ड गरी सर्भ गर्ने ।
हट टर्मेरिक मिल्क

आवश्यक सामग्री
बेसार– चौथाई (सानो) चम्चा, पिसेको अलौंची– चौथाई (सानो) चम्चा, मरिच– १/८ (सानो) चम्चा, अदुवा (पिसेको)– १ चिम्टी, ल्वाङ (पिसेको)– १ चुट्की, दूध– १ कप, मह– ३/४ (सानो) चम्चा, भेनिला एक्स्ट्र्याक्ट– १/४ (सानो) चम्चा ।
बनाउने तरिका
सानो कचौरामा बेसार, अलैंची, मरिच, अदुवा, ल्वाङ र मसला मिसाउने । त्यसपछि यो मिश्रणलाई छुट्टै राख्ने । अब मध्यम तापमा सानो सप्यानमा दूध तताएर उमाल्ने । दूध उम्लिसकेपछि पनि करिव ३–४ मिनेटसम्म तताइराख्ने । उक्त दूधमा मह र भेनिला हाली राम्रोसँग घुल्ने गरी मिसाउने ।
दूधको मिश्रणमा माथि उल्लेख गरिएअनुसारको बेसारको मिश्रण १ चिया चम्चा हाल्ने । आगोको ताप बिस्तारै घटाउने र सबै समग्री मिक्स नभइन्जेल (२ देखि ३ मिनेटसम्म) पकाउने । हट टर्मेरिक मिल्क तयार भयो, यसलाई स्ट्रेनरमार्फत गिलासमा राखी पिउन सकिन्छ ।
क्रिस्पी बबल पोटेटो

आवश्यक सामग्री
मध्यम आकारका आलु– ४ वटा (बोक्रा निकालेर २ इन्चका टुक्रा पारी काटिएको), क्यानोला तेल वा सन्फ्लावर तेल (फ्राइङका लागि), चामलको पिठो– चौथाई कप, कर्नस्टार्च– २ (ठूलो) चम्चा, नुन– १ (सानो) चम्चा, मसलायुक्त नुन– १ (सानो) चम्चा ।
बनाउने तरिका
एउटा ठूलो ससप्यानमा पर्याप्त पानीसहित आलु राखेर उमाल्ने । पानी उम्लन थालेपछि केही समय (५–१० मिनेटजति) छोपेर उमाल्ने । पाके–नपाकेको जाच्नका लागि एउटा काँटाले घोचेर हेर्न सकिन्छ । मजाले पाकिसकेपछि पानी हटाउने र आलुलाई सुक्खा बनाउने ।
अब अर्को एउटा ठूलो डच बाटा वा अन्य गह्रुँगो भाँडामा करिव ३ इन्च तेल हुने गरी मध्यम रापको आगोमा करिव १८५ डिग्री सेल्सियसमा तताउने । माथि उल्लेख गरिएअनुसार बोक्रा हटाएर राखिएको आलुलाई एउटा भाँडामा राखेर मजाले म्यास गर्ने । म्यास गरिएको आलु, चामलको पिठो, मकैको पिठो, नुन र मसलायुक्त नुनलाई मध्यम आकारको कचौरामा राखी मिसाउने । यी सबैलाई राम्रो डो नबनेसम्म मिच्ने । आवश्यकताअनुसार (एक पटकमा १ चम्चा) पानी थप्न सकिन्छ ।
तयार भएको डोलाई ४ टुक्रामा विभाजन गर्ने । प्रत्येक टुक्रालाई १ इन्च व्यासको आकार दिई प्रत्येकलाई १–१ इन्चका टुक्रामा काट्ने । काटेको आँटाका टुक्राहरूलाई तातो तेलमा हल्का सुनौलो नभएसम्म फ्राई गर्ने । २ देखि ३ मिनेटपछि अर्कोतिर पल्टाउने । अब स्पाइडर वा स्लटेड स्प्याटुला प्रयोग गरेर, तेलबाट ड्रेनिङ र्याकमा निकाल्ने । बाँकी टुक्राहरूलाई पनि यसै गरी फ्राई गर्ने । अन्त्यमा यो क्रिस्पी पोटेटोमा आवश्यकताअनुसार मसलायुक्त नुन राख्न सकिन्छ । क्रिस्पी बबल पोटेटो तयार भयो, यसलाई स्न्याक्सका रूपमा केचपसँग सर्भ गर्न सकिन्छ ।