डेङ्गु : लक्षण, जोखिम र सावधानी

डेङ्गु : लक्षण, जोखिम र सावधानी

डा. शेरबहादुर पुन

यस वर्ष काठमाडौं उपत्यकामा डेङ्गु सङ्क्रमणको प्रकोपले धेरैलाई अत्यायो । राजधानीस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, टेकुमा डेङ्गु सङ्क्रमितको चाप बाक्लो छ । यहाँको बेडमा भर्ना भएका कूल बिरामीमध्येका करिव ७० प्रतिशत त डेङ्गु सङ्क्रमित नै छन् । डेङ्गु सङ्क्रमितको चाप अझै केही समय बढी नै हुने देखिन्छ ।

यस अस्पतालमा स्वास्थ्य जाँच गर्न आउनेमध्ये ज्वरो आएका अधिकाङ्श बिरामीमा डेङ्गु सङ्क्रमण पुष्टि हुने गरेको छ । टेकु अस्पतालको ओपीडीमा मात्र नभई आकस्मिक कक्षमा आइपुग्ने बिरामीको चाप समेत थेगिनसक्नु छ । स्वास्थ्य जाँच गर्नका लागि यहाँ डेङ्गु सङ्क्रमणसँग मिल्दोजुल्दो लक्षण भएका बिरामी दैनिक ६० जनाभन्दा बढी आइपुग्ने गरेका छन् । यी पङ्क्ति लेखिरहँदासम्म दैनिक सरदर ४० जना डेङ्गु सङ्क्रमित यस अस्पतालको आकस्मिक कक्षमा आउने गरेको देखिन्छ । टेकु अस्पतालमा साउनको पहिलो सातादेखि नै डेङ्गु सङ्क्रमित बिरामीको सङ्ख्या एकपछि अर्को गर्दै बढेको हो ।

सामान्यतया अस्पतालमा केही दिन औषधोपचारपछि डेङ्गु सङ्क्रमित बिरामी डिस्चार्ज हुने गरेका छन् । विशेषतः ज्वरो आएको र शरीरका विभिन्न अङ्ग (माङ्शपेशी) दुखेको अवस्थामा डेङ्गु सङ्क्रमण लक्षण मान्न सकिन्छ । ज्वरो आएर शरीर दुख्ने लक्षणसहित अस्पताल आएका बिरामीमध्ये करिव ७० प्रतिशतमा डेङ्गु पुष्टि हुने गरेको छ ।

यस्तो छ सङ्क्रमणको तथ्याङ्क

नेपालमा पहिलो पटक सन् २००४ मा एक विदेशी नागरिकमा डेङ्गुको सङ्क्रमण आधिकारिकरूपमा पुष्टि भएको थियो । त्यसयता नेपालमा हरेक वर्ष नै डेङ्गु सङ्क्रमणले केही नागरिकलाई दुःख दिँदै आइरहेको छ ।

७ सेप्टेम्बर, २०२२ सम्मको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क हेर्दा काठमाडौं उपत्यकामा व्यापकरूपले डेङ्गु सङ्क्रमण फैलिएको देखिन्छ । महाशाखाको १ जनवरी, २०२२ देखि ७ सेप्टेम्बरसम्को तथ्याङ्कअनुसार ६ हजार ७ सय ७ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ ।

२२ भदौसम्मको तथ्याङ्कअनुसार प्रदेश– १ मा २ सय ५६, मधेश प्रदेशमा १ सय १९, बागमती प्रदेशमा ५ हजार ६६ जना (सबैभन्दा बढी) मा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । यसै अवधिमा गण्डकी प्रदेशमा १ सय २८, लुम्बीनी प्रदेशमा ९ सय ३३, कर्णाली प्रदेशमा ४४ र सुदूरपश्चिम प्रदेशमा १ सय ६६ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ ।

काठमाडौं उपत्यकाअन्तर्गत पनि ललितपुरमा डेङ्गु सङ्क्रमणको सङ्ख्या सबैभन्दा बढी देखिन्छ । २२ भदौसम्मको तथ्याङ्कअनुसार ललितपुरमा २ हजार ४ साय ७९ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । यो अवधिमा काठमाडौंमा डेङ्गु सङ्क्रमितको सङ्ख्या १ हजार ४ सय १० र भक्तपुरमा १ सय ३४ जना पुगेको छ ।

जोखिम कहिलेसम्म त ?

सामान्यतः मनसुन सकिएलगत्तै डेङ्गुको प्रकोप देखिँदै आएको छ । मनसुनको समयमा समेत डेङ्गु देखिँदैन भन्नेचाहिँ हुँदैन तर फाट्टफुट्ट मात्र हुने गरेको देखिन्छ । डेङ्गु असोज–कात्तिकमा बढी देखिँदै आएकाले यही मौसममा बढी जोखिम हुने देखिन्छ ।

सामान्यतया भदौदेखि कात्तिकसम्म पानी परेपछि गर्मी हुन्छ र यही समयमा प्रकोपकै रूपमा डेङ्गु सङ्क्रमण देखिँदै आएको छ । गर्मी मौसममा जमेको पानी लामखुट्टेका लागि फुल पार्ने उपयुक्त वातावरण भएकाले यो मौसममा डेङ्गुको जोखिम बढी हुने भएको हो । जमेको फोहोर मात्र नभई सफा पानीमा समेत लामखुट्टेले फुल पारी सङ्ख्यात्मक वृद्धि गर्ने भएकाले पानी जम्न दिनु हुँदैन । सवारी साधनका फालिराखिएका थोत्रा टायरमा जमेको पानीमा त लामखुट्टेले सबैभन्दा बढी फुल पार्ने गरेको पाइएकाले यसरी टायरमा पानी जम्न दिनै हुँदैन ।

लामखुट्टेले डेङ्गु सङ्क्रमितलाई टोकेपछि त्यसले फेरि अर्को व्यक्तिलाई टोकेमा डेङ्गु सर्ने गर्दछ । सुरु–सुरुमा तराई र उपत्यकामा मात्रै डेङ्गु सङ्क्रमण हुने गरेको देखिए तापनि आजकल भने तराई, पहाड र हिमाली– सबै क्षेत्रमा यसले सताउने गरेको देखिन्छ ।

यसरी निम्तन्छ जटिलता

डेङ्गु सङ्क्रमित लामखुट्टेले टोकेको दस दिनसम्ममा डेङ्गुका लक्षण देखिने गर्दछन् । एक्कासि उच्च ज्वरो आउनु तथा माङ्शपेशी कटकटी खानु नै डेङ्गुका मुख्य लक्षण हुन् । अधिकाङ्श डेङ्गुपीडितलाई यसका लक्षण देखिएको सातासम्म ज्वरो आउने सम्भावना हुन्छ । डेङ्गु सङ्क्रमण भएमा आँखाका गेडी दुख्ने, टाउको दुख्ने, छालामा स–साना राता डाबर आउनेजस्ता  लक्षण देखिन्छन् ।

डेङ्गु सङ्क्रमणका सुरुआती दिनहरूमा हाडजोर्नी र माङ्शपेशी अत्यधिक दुख्छन् । कसै–कसैलाई भने वाक्‌वाकी लाग्ने र बान्ता हुनेलगायतका थप लक्षण पनि देखिन्छन् । डेङ्गु सङ्क्रमण फैलिएर लामो समयसम्म लक्षण देखिइरहेमा भने गिजा र नाकबाट रक्तश्राव हुने जोखिम पनि हुन्छ । डेङ्गुका सङ्क्रमितमा पिसाब रातो हुने र दिसा कालो हुनेजस्ता लक्षण पनि देखिन सक्छन् ।

डेङ्गु सङ्क्रमणले कडा रूप लिएमा मिर्गौला, कलेजो, मुटु, स्नायुजस्ता अङ्गमा नकारात्मक असर पर्नुका साथै थप स्वास्थ्य जटिलता निम्तिएर ज्यानै जानेसम्मको जोखिम हुन्छ । अतः पहिलो कुरा त सङ्क्रमण हुनबाट बच्नु नै सवैभन्दा बुद्धिमानी हुन्छ । सङ्क्रमण भइहालेमा भने चिकित्सकसँग परामर्श लिनुपर्छ या स्वास्थ्य संस्थामा पुग्नुपर्छ ।

तारन्तार बान्ता हुने, पेट दुख्ने, शरीर आलस्य हुने र रक्तश्राव हुनेजस्ता लक्षण देखिएमा उपचारका निम्ति ढिलो नगरीकन स्वास्थ्य संस्थामा पुग्नुपर्छ । यद्यपि डेङ्गु सङ्क्रमणका कारण हुने मृत्युदर एक प्रतिशत भन्दा कम छ; त्यसैले आत्तिइहाल्ने अवस्था नभए पनि सतर्क भने हुनैपर्छ ।

डेङ्गुबाट बच्ने यसरी…

डेङ्गुबाट बच्ने सवैभन्दा राम्रो उपाय भनेकै लामुखुट्टेको टोकाइबाट बच्नु हो । यसका निम्ति झुल लगाएर सुत्नुपर्छ र शरीर पूरा ढाक्ने किसिमका कपडा लगाउनुपर्छ । डेङ्गुको मुख्य कारक मानिएको ‘एडिस’ जातको लामखुट्टे दिउँसो बढी सक्रिय हुन्छ । त्यसैले दिउँसो हिँडडुल गर्दा वा काममा व्यस्त रहँदा पूरा शरीर ढाक्ने लुगा लगाएर यसको टोकाइबाट बच्नुपर्छ ।

लामखुट्टेको नियन्त्रणका लागि ‘सर्च एन्ड डिस्ट्रवाई’ विधि अपनाउनुपर्छ; लामखुट्टेका लार्भा तथा लामखुट्टे नस्ट गर्नुपर्छ; घर या कार्यस्थल वरिपरि पानी जम्न दिनु हुँदैन । टिनका डम्बा, रङ्गका खालि डब्बा, टायर, ट्युब र खालि ड्रममा पानी जम्मा हुन दिन हुँदैन । फूल रोप्ने गमला, फूलदानी, एयरकन्डिसनर, पानीका ट्याङ्की आदिलाई राम्ररी सफा गरेर लामुखुट्टेको वृद्धिमा रोक लगाउन सकिन्छ ।

डेङ्गु सङ्क्रमण भइहाले यसको उपचारका लागि विशेष औषधि छैन । त्यसैले डेङ्गु भएका बेला लक्षणको आधारमा उपचार (सिप्टम्याटिक ट्रिटमेन्ट) गरिन्छ अर्थात्, जे–जे लक्षण देखिएका छन्, सोही किसिमको उपचार विधि अपनाइन्छ । डेङ्गु सङ्क्रमण भएमा झोलिलो किसिमका र रसिला खाद्य पदार्थ सेवन गर्नुपर्छ र मनग्गै मनतातो पानी  पिउनुपर्छ ।

डा. पुन शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, टेकुको क्लिनिकल रिसर्ट युनिटका संयोजक हुन्‌

सुसभ्य होऔं, डेङ्गु महामारीलाई परास्त गरौं !

दुई वर्षभन्दा लामो समयसम्म कोरोनाभाइरस सङ्क्रमणको महामारीबाट आक्रान्त नागरिक अहिले फेरि डेङ्ग् सङ्क्रमणको महामारी भोग्न विवश भएका छन् । कोरोनाभाइरसको तुलनामा मृत्युदर निकै कम भएको तथ्य विज्ञ र चिकित्सकहरूले पुष्टि गर्दै आइरहेका छन् । मृत्युदर कम भए तापनि यसले दिने शारीरिक एवम् मानसिक पीडा, स्वास्थ्य जटिलता र कामकाज तथा सामाजिक गतिविधिमा व्यवधान आदि–इत्यादि पक्षहरूका दृष्टिकोणबाट भने डेङ्गु महामारी पनि कोरोना महाभारीभन्दा कम देखिएको छैन । मुख्यतः रगतमा ह्वाइट ब्लड सेल्सको सङ्ख्या स्वाट्टै घटाउने डेङ्गु महामारीको सङ्क्रमण भएपछि केही दिन थला परेका नागरिक त्यसपछि तङ्ग्रँदै तन्दुरुस्त भएर नियमित जीवन–व्यवहारमा फर्कन हप्तौंसम्म लाग्ने गरेको पाइएको छ ।

अरु महामारी झैं डेङ्गु सङ्क्रमणका सन्दर्भमा पनि रोग लागिसकेपछि निको पार्ने उपायहरूको खोजीमा जुट्नुभन्दा रोग नै लाग्न नदिनु नै बुद्धिमत्तापूर्ण हुने कुरा स्वतः स्पष्ट नै छ । झाडापखाला, कोरोना, हैजा, आउँजस्ता अरु रोग र महामारी झैं डेङ्गुबाट पनि बच्ने मुख्य उपाय भनेको वातावरणी स्वच्छता र सरसफाइ नै हो । डेङ्गु सङ्क्रमणको एक मात्रै स्रोत लामखुट्टेको टोकाइ हो भन्ने तथ्यबारे विज्ञ र चिकित्सकहरूले बारम्बार प्रकाश पार्दै आइरहेका छन् ।

घर–डेरा, कार्यालय–कार्यस्थल वरिपरि जम्ने फोहोर मात्र नभई सफा पानी समेत सङ्क्रामक लामखुट्टेको मुख्य वासस्थल हो । विभिन्न सामग्रीका खालि बट्टा या डब्बा, बाल्टिन वा ड्रम, थोत्रा टायर, खाल्डाखुल्डी आदिमा जमेको पानीमा लामखुट्टेले फुल पार्ने र छिटछिटो बच्चा जन्माउने भएकाले त्यस्ता स्रोतहरू रहन नदिनु नै डेङ्गुबाट बच्ने मुख्य उपाय मानिएको छ । डेङ्गु सङ्क्रमण गराउने लामखुट्टेले रातिभन्दा दिउँसो बढ्ता सङ्क्रमण गराउने भएकाले दिउँसोको दिनचर्याका क्रममा यसबाट बच्नु महङ्खवपूर्ण हुने विज्ञहरूको भनाइ छ ।

यद्यपि लामखुट्टेले रातिचाहिँ नटोक्ने र रातको समयमा चाहिँ डेङ्गु नसर्ने भन्ने होइन । अतः झुलभित्र सुत्ने, लामखुट्टे भगाउने किसिमका धुप वा झोल प्रयोग गर्ने, शरीमा लामखुट्टे आउन नदिने किसिमको मलम लगाउने आदि तरिकाबाट राति बच्न दिउँसोको तुलनामा केही सहज हुन्छ । दिउँसो भने प्रायः बाहिरफेर नै व्यस्त रहनुपर्दा सङ्क्रामक लामखुट्टेले टोकवरि बाटो तताइसकेको कुरा समेत पत्तो पाउन मुस्किल पर्छ । त्यसैले दिउँसोको कार्यस्थल लामखुट्टमुक्त गराउन यथासम्भव उपायहरूको अवलम्बन, दिउँसै पनि शरीरमा मलम दलेर मात्र कामकाज गर्ने, खुट्टादेखि टाउकोसम्म शरीरका प्रायः सबै भाग ढाकिने/छोपिने गरी कपडा लगाउने र अन्य आवश्यक र सम्भव उपायहरू अपनाउने आदिजस्ता तरिकाद्वारा लामखुट्टेको टोकाइबाट बच्नु र अन्ततः डेङ्गु सङ्क्रमणबाट जोगिनु अहिलेका निम्ति आत्मरक्षाका अचुक उपाय हुन् ।

डेङ्गु भइहालेमा अत्यधिक ज्वरो आउने, वाक्‌वाकी लाग्ने, बान्ता हुने, माङ्शपेशी र हाडजोनीहरू दुख्ने, पखाला लाग्ने, खाना नरुच्ने, शारीरिकरूपले अत्यधिक कमजोरीको महसुस हुनेजस्ता लक्षणहरू देखा पर्दछन् । डेङ्गुको कुनै खास उपचार विधि, औषधि र भ्याक्सिन नभएकाले यसको सङ्क्रमण भएपछि देखा पर्ने समस्याअनुरूप उपचार विधि अपनाइने चिकित्सक र विज्ञहरूको भनाइ छ । कोरोनाजस्तो र्‍याल, सिँगान, थुकका छिटा, स्पर्श या यस्तै तरिकाले एक सङ्क्रमितबाट अर्को व्यक्तिमा डेङ्गु सर्दैन । डेङ्गु सङ्क्रमितलाई टोकेको लामखुट्टेले लगत्तै अर्को स्वस्थ व्यक्तिलाई टोकेमा मात्रै दोस्रो व्यक्तिमा डेङ्गु सङ्क्रमण हुने विज्ञहरूको भनाइ छ ।

डेङ्गुको सङ्क्रमण भइहालेमा पर्याप्त मनतातो पानी पिउने, झोलिला र पोषिला खाने कुरा खाने, पर्याप्त आराम गर्ने र शुद्ध सिटामोल मात्र खाने गरेमा छिटै निको हुने सुझाव चिकित्सकहरूले दिँदै आएका छन् । डेङ्गु सङ्क्रमणको शङ्का लागेमा स्वास्थ्य परीक्षण गरी रोगको पहिचान गर्ने, सकेसम्म स्वास्थ्य केन्द्र/संस्थामै उपचार गराउने, चिकित्सकको परामर्शमा मात्रै थप औषधिको सेवन गर्नेजस्ता उपाय र सावधानी अपनाउनुपर्छ । यतिबेला राजधानी उपत्यकामा सवैभन्दा बढी र देशका प्रायः सवै क्षेत्रमा धेरथोर डेङ्गुको सङ्क्रमण पुष्टि भइरहेको छ । अरु महामारीहरूमा जस्तै यो महामारीको पनि कुशलतापूर्वक सामना र समाधान गर्नुको कुनै विकल्प छैन । आत्तिएर होइन, संयमित, धैर्य र सुसंस्कृत/सुसभ्य भएर डेङ्गु महामारीलाई परास्त गरौं !

अन्य ...

ताजा