उत्सवमय क्रिसमस

उत्सवमय क्रिसमस

क्रिस्चियन धर्मावलम्बीहरूको सबैभन्दा ठूलो पर्व हो क्रिसमस । यस धर्मावलम्बीहरूले हरेक वर्षको २५ डिसेम्बरका दिन विश्वभर नै क्रिसमस पर्वलाई उत्सवमय रूपमा मनाउँछन् । पछिल्लो समय नेपालमा पनि उल्लासका साथ क्रिसमस मनाउने गरिएको छ ।

हिब्रु पात्रोअनुसार जिसस क्राइस्टको जन्मोत्सवका दिन क्रिसमस–डे मनाउने गरिएको क्रिस्चियन धर्मावलम्बीहरूको भनाइ छ । जिसस क्राइस्टकै जन्मका आधारमा अङ्ग्रेजी पात्रो बनाइएको मानिन्छ । त्यसैले अङ्ग्रेजी सम्बत्‌लाई ‘इसवी सम्बत्‌’ भन्ने गरिएको छ । क्राइस्टको जन्मोत्सव मनाइएको पाँच दिनपछि अर्थात्, १ जनवरीमा अङ्ग्रेजी नयाँ वर्ष मनाइन्छ ।

पछिल्लो समय नेपालमा समेत क्रिसमस–डे आसपास व्यापारिक क्षेत्र, बजार तथा घर सिँगार्ने क्रम बढिरहेको छ । यो समयमा विशेषतः सहरी क्षेत्र तथा किनमेल गर्ने ठाउँ र बजार क्षेत्र झकिझकाउ हुने गरेका छन् । यस दिन गैरक्रिस्चियन धर्मावलम्बीहरू समेत होटल तथा रेष्टुराँ पुगेर खानपान गर्ने तथा रमाउनेको क्रम बढिरहेको देखिन्छ ।

यस पर्वमा विशेषरूपले ‘क्रिसमस–ट्री’ लाई आकर्षक ढङ्गबाट सजाउने र बालबालिका तथा किशोरकिशोरीहरूले सान्ता–क्लाउज नामक पोसाक लगाउने गरेको पाइन्छ । प्राकृतिकरूपमै उमारेर हुर्काइएको होस् वा कृत्रिमरूपमा तयार पारिएको प्लास्टिक तथा नाइलनकै किन नहोस्, क्रिसमस–ट्री यस पर्वको साङ्केतिक सम्पदा नै बनेको छ ।

क्रिस्चियन धार्मिक मान्यताअनुसार क्रिसमस–ट्रीमा रातभर कपास, घन्टी, गिफ्टलगायतका सामग्री राखेर सजाउने प्रचलन छ । ‘सान्ता क्लाउज बाजे’ ले उपहार दिने धार्मिक मान्यताका कारण यस्ता सामग्री सजाउने परम्परा रहिआएको मानिन्छ ।

केही वर्षयता क्रिसमसका दिन नेपालमा सार्वजनिक बिदा दिने गरिएको छ । यस दिन विभिन्न किसिमका पार्टी (भोज) हरूको आयोजना गर्नुका साथै क्रिस्चियन ‘विश्वासी’ हरू चर्चमा भेला भएर एकापसमा खुसी साटासाट गर्दै क्रिसमसका गीत र क्रिस्चियन भजनहरू गाउँदै उत्सव मनाउने प्रचलन छ । लामो समयदेखि टाढिएका परिवारजन समेत यस दिन भेटघाट र पुनर्मिलन गरेर रमाउने तथा एकापसमा खुसी साट्दै उपहार आदान–प्रदान गर्ने चलन छ ।

अन्य ...