अनिता सुनुवार
जेड प्लान्टलाई समृद्धिको प्रतीकका रूपमा समेत लिइन्छ । यो बिरुवा घरमा रोपेर सजाएको खण्डमा परिवार नै समृद्ध हुने विश्वास गरिन्छ । त्यसैले जेड प्लान्टलाई समृद्धिको प्रतीकका रूपमा लिने गरिएको हो ।
जेड प्लान्टको वैज्ञानिक नाम ‘क्रासुला ओभाटा’ हो । जेड प्लान्टलाई विभिन्न उपनामले चिनिन्छ । यो मनीप्लान्ट वा मनी ट्री र भाग्यशाली बिरुवा जस्ता उपनामले समेत परिचित छ । पूर्वी युरोप, दक्षिण अफ्रिका र मोजाम्बिक, क्वाजुलु–नाताल यसको उद्गमथलो भएको पाइन्छ ।
यो बहुवर्षीय, बाक्लो र रसिलो पात हुने निकै आकर्षक बिरुवा हो । झट्ट हेर्दा सानो तर पुड्को रुखजस्तो देखिने जेड प्लान्ट घरमा राखेर सजाउँदा निकै अकर्षक देखिन्छ । यो प्लान्ट चटक्क पनि देखिन्छ ।
जेड प्लान्ट घरभित्र स–साना गमलामा रोपेर सजाउनका लागि निकै आकर्षक बिरुवा हो । यस बिरुवाको स्याहार–सुसारमा धेरै समय खर्च गरिरहनु पनि पर्दैन । दैनिक पानी हाल्न भने ख्याल गर्नुपर्छ । यो बिरुवा घरभित्र राख्दा सुख्खा हुन दिनु हुँदैन तर धेरै पानी हालिराख्नु पनि हुँदैन । धेरै पानी हालिरहेको खण्डमा बिरुवा नै कुहिने जोखिम हुन्छ ।
जेड प्लान्टका विभिन्न फाइदा छन् । यसलाई कतिपय ठाउँमा त विभिन्न औषधोपचारमा समेत उपयोग गर्ने गरिएको पाइन्छ । तर, कुकुरजस्ता जनावरले यो बिरुवा खाएमा यसमा हुने विषाक्त पदार्थले असर पनि गर्न सक्ने देखिन्छ । मानिसलाई पनि यसमा हुने विषाक्त तत्वले नकारात्मक असर गर्न सक्छ । त्यसैले यो बिरुवा चलाएपछि राम्रोसँग हात धुनुपर्छ ।
अन्य बिरुवाका लागि तापक्रममा ख्याल गरेजस्तै जेड प्लान्टका लागि पनि तापक्रममा ध्यान दिनुपर्ने हुन्छ । यस बिरुवालाई दिनको समयमा १८ देखि २४ डिग्री सेल्सियससम्मको तापमान उचित हुन्छ । तर, रातको समयमा भने जेड प्लान्टका लागि १० देखि १३ डिग्री सेल्सियसको बीचको तापक्रम उचित हुन्छ ।
घरभित्र राखिने अन्य कयौं बिरुवाहरूजस्तै जेड प्लान्टले पनि हावामा आउने धुलो–धुवाँजस्ता प्रदूषण कम गर्न मद्धत पुर्याउँछ । यसले हावाको शुद्धीकरणमा समेत मद्धत गर्छ । घरमा जेड प्लान्ट रोपिएको छ भने घरभित्र विषाक्त पदार्थ र प्रदूषण कम गर्न मद्धत मिल्छ । तसर्थ, जेड प्लान्टको सबैभन्दा राम्रो पक्ष र लाभ भनेकै हावा सफा गर्ने यसको क्षमता हो । स्वस्थ हावा र स्वस्थ जीवनका लागि पनि घरमा जेड प्लान्ट रोप्नु उचित हुन्छ ।
जेड प्लान्ट घरमा रोपेर आकर्षक तरिकाले सजाउन सकिन्छ । यस बिरुवाको प्रजातिअनुसारको मूल्य पर्छ । यसको मूल्य सामान्यतया ७५ रूपैयाँदेखि माथि पर्छ । नेपालमा विशेषगरी फूल बिरुवाका व्यावसायिक नर्सरीहरूमा जेड प्लान्टका बिरुवा पाइन्छन् । यो बिरुवा बहुवर्षे भएकाले एक पटक रोपेपछि वर्षौंसम्म राम्रो तथा आकर्षक रूपमा कायम राख्न सकिन्छ ।
यो बिरुवाका लागि धेरै मल हालिराख्नु पनि हुँदैन । धेरै मल हालेको खण्डमा समेत सहन नसकेर मर्ने भएकाले गमलाको आकारअनुसार तीन–तीन महिनामा थोरै (एक चम्चादेखि एक मुठीसम्म) पिना मल लगाउन सकिन्छ । तर, जेड प्लान्टका लागि कम्पोस्ट मल नै उचित हुन्छ । जेड प्लान्टको बिरुवा कोमल हुने भएकाले मल धेरै भएमा वा बिरुवाको फेदमा सिधै मल परेको खण्डमा बिरुवा नै मर्ने जोखिम हुन्छ । त्यसैले सिधै बिरुवाको डाँठ वा जराले भेट्नेभन्दा केही पर खोतलेर मल हाल्नुपर्छ । मल हालिसकेपछि त्यो मल माटोले नै छोपिनु राम्रो हुन्छ । मल माटोबाहिर परेको खण्डमा दुर्गन्ध आउने लगायतका समस्या हुन सक्छन् ।